Search for a command to run...
पूर्ववर्ती व्याकरणहरूको सिंहावलोकन गर्दै पाणिनीय व्याकरणमा प्रयोग गरिएका प्रत्याहारहरूको परिचय दिएर तिनको वर्गीकरणसँगै प्रयोगस्थलको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा मुख्यतः प्राथमिक स्रोतका अष्टाध्यायी र व्याकरणमहाभाष्य तथा अंशतः द्वितीयक स्रोतको वैयाकरणसिद्धान्तकौमुदीअन्तर्गतका प्रत्याहारसँग सम्बद्ध सामग्रीको सङ्कलन र विश्लेषणका लागि न्यून मात्रामा ऐतिहासिक अध्ययन पद्धति र अधिक मात्रामा वर्णनात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यस लेखमा १४ वटा प्रत्याहारसूत्रसँग सम्बद्ध ४२ वटा वर्णात्मक प्रत्याहारहरूको, प्रत्याहारसूत्रसँग असम्बद्ध पाँचवटा प्रत्ययात्मक प्रत्याहारहरूको र पतञ्जलिद्वारा परिकल्पित प्रत्याहारसूत्रसँग असम्बद्ध छवटा प्रत्ययात्मक प्रत्याहारहरूको अध्ययन गरिएको छ । तीमध्ये प्रत्याहारसूत्रसँग सम्बद्ध एउटा वर्णात्मक चय् प्रत्याहारको प्रयोग एउटा वार्तिकमा मात्रै भएको छ भने अण् आदि ४१ वटा वर्णात्मक प्रत्याहारहरूको साक्षात् रूपमा २५० वटा सूत्रमा र अनुवर्तनका रूपमा १५० वटा सूत्रमा उपयोग गरिएको छ । पाणिनीय व्याकरणमा दुई प्रकारको मात्रै पदसंरचना रहेकाले पदसंरचनालाई व्यवस्थित गर्ने सुप् र तिङ् प्रत्ययका अवान्तर भेदका रूपमा देखिएका सुप्, सुट्, आप्, तिङ् र तङ् पाँचवटा प्रत्ययात्मक प्रत्याहारहरूको प्रत्यक्ष रूपमा ३६ वटा सूत्रमा र अनुवर्तनका रूपमा ११ वटा सूत्रमा प्रयोग गरिएको छ । पतञ्जलिद्वारा परिकल्पित प्रत्याहारसूत्रसँग असम्बद्ध उम्, कृञ्, तृन्, मात्रच्, सङ् र यङ् छवटा प्रत्ययात्मक प्रत्याहारहरूको अध्ययन व्याकरणमहाभाष्यमा मात्रै भएकाले तिनको अन्यत्र परिचर्चा भएको पाइँदैन । समग्र रूपमा पाणिनीय व्याकरणका ४५० वटा सूत्रमा र तीनवटा वार्तिकमा ५३ वटा प्रत्याहारहरूको अध्ययन गरिएको छ ।
Published in: Kaumodaki Journal of Multidisciplinary Studies
Volume 6, Issue 01, pp. 175-183